
बाख्रा व्यवसायबाट कृषकले मनग्ये आम्दानी लिन थालेका छन् । करिब १४ वर्ष विदेशी भूमिमा दुःख गरेका चापाकोट –४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर बाख्रा पालन व्यवसाय शुरु गरेपछि अहिले खाँणले बाख्रा बिक्रीबाट मासिक १ लाख आम्दानी गर्दै आएका हुन् । १४ वर्ष विदेशी भूमिमा पसिना बगाएका चापाकोट –४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर व्यवसायिक रुपमा शुरुवात गरेको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।
सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थालेका हुन । विसं २०७० चैतमा ‘कालिका बाख्रा फार्म’ दर्ता गरी सञ्चालनमा ल्याएको फार्म अहिले जिल्लाकै नमूनाको रूपमा विकसित भएको छ । छ वर्षअघि २५ माउबाख्राबाट व्यवसाय थालेका खाँणको फार्ममा हाल १२० माउबाख्रा छन् ।
“मैले मासुका लागि खसी, बोका बिक्री गर्ने नभई बीउका लागि बिक्री गर्ने गरेको छु”, युवा व्यवसायी खाँणले भने, “मेरो फार्ममा ८० प्रतिशत बोयर जातका बाख्रा छन् यो मासुभन्दा पनि बीउका लागि माग बढी हुने गरेको छ ।”
बीउका लागि साढे तीन महिनादेखि चार महिना अवधिबाट पाठापाठी बिक्री गर्दै आएका छन । फार्म सञ्चालनमा आएसँगै दुई कामदारले रोजगारी प्राप्त गरेका छन् ।१५ लाखबाट शुरु भएको व्यवसाय अहिले १ करोड बढी लगानी भएको व्यवसायी खाँणले बताए ।
“बाख्रा बिक्रीबाट मासिक १ लाख आम्दानी हुने गरेको छ भने वर्षभरिमा ११÷१२ लाख आम्दानी हुन्छ”, व्यवसायी खाँणले भने, “दाना औषधिमुलो र अन्यमा गरी रु दुई लाख खर्च हुने र वार्षिक १० लाखको हाराहारीमा बचत हुने गरेको छ ।”
४० रोपनी व्यक्तिगत र २० रोपनी जग्गा भाडामा लिएर विकासे घाँसहरु वर्षिम, जै, नेपियर तथा राइखनियो, बडहर, किम्बु, इपिललिपिल, टाँकी, बकाइनोजस्ता डालेघाँस लगाएको व्यवसायी खाँणले जानकारी दिए । “वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवायुवतीको चाप बढ्दै जाँदा गाउँबस्ती खाली हुने वा बूढापाका मात्रै गाउँमा रहने परिस्थिति रहेको छ”, उनले भने, “रोजगारीका लागि विदेशिने तथा शहर पस्ने युवाहरुलाई गाउँमै पनि प्रशस्तै सम्भावना तथा अवसर छ भन्ने अभिप्रेरित गर्नु आवश्यक छ ।”
बाख्रा फार्म अवलोकन तथा अध्ययनका लागि विभिन्न ठाउँबाट युवायुवतीको समूह आउने गरेको व्यवसायी खाँणले बताए । उनीहरुले फर्केर गएपछि व्यक्तिगत तथा सामूहिक रूपमा बाख्रा पालन व्यवसाय शुरु गर्ने प्रक्रिया अघि बढाउने गरेको आफूले जानकारी पाएको खाँणको भनाइ छ ।