समाचारस्वास्थ्यहेडलार्इन

नोवेल अस्पतालमा सुत्केरीको ज्यान गयो

विराटनगर

चिकित्सकको लापरबाहीका कारण विराटनगर स्थित नोबेल अस्पतालमा सुन्केरीको ज्यान गएको छ । दक्ष चिकित्सक नभएका कारण बारम्बार बिरामीले ज्यान गुमाउनु पर्ने नोवेल शिक्षण अस्पतालमा फेरि एक सुत्केरी महिलाले ज्यान गुमाएका छन् । इलाम जिल्लाको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका –६ खेरुवा स्थित माइतीमा बस्दै आएकी २९ वर्षीय जानुका श्रेष्ठको चिकित्सकको लापरबाहीका काारण मृत्यु भएको परिवारले बताए । शल्यक्रिया मार्फत प्रसूति गराइएकी उनको मृत्युपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएकी श्रेष्ठलाई शल्यक्रिया गरेर १० बजे प्रसूति गराइएको थियो । अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेत्रृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो ।

पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकको बेवास्ताका कारण जानुकाले ज्यान गुमाउनु परेको उनका बुवा गणेश कुमार श्रेष्ठले बताए । ‘शल्क्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले कुनै वास्तै गरेनन,’ उनले भने, ‘बिहान २ बजेपछि छोरीको मृत्यु भयो ।’ सुत्केरीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए । शव बुझ्न अस्वीकार गरेका आफन्तले शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप लगाएका छन् । बस रिजर्व गएर आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन । साँझ प्रदर्शन झन उग्र भएर गएको छ । नाराजुलुस गर्दै प्रसूति वार्ड तिर हुल बढेपछि त्यसलाई रोक्न खोज्दा मृतक पक्ष र प्रहरी बीच धकेलाधकेल भएको थियो । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेकका थिए । साँझ ६ बजेसम्म अस्पताल बाहिर नाराजुलुस र प्रदर्शन जारी थियो ।

जानुकाका श्रीमान रविन श्रेष्ठ मजदुरीका लागि भारत गएका थिए । श्रीमतीको मृत्युको खवर सुनेका उनी विराटनगर आइसकेका छन् । अस्पताल र मृतक पक्षबीच पटक–पटक भएको वार्ता भने बिना निस्कर्ष टुँगिएको छ । ‘अस्पतालले नै वार्ता गर्ने भनेर मृतक पक्षलाई बोलायो,’ शान्ति पाख्रिनले भनिन,‘दिनभर भएको वार्ता निस्कर्षमा नपुगेपछि साँझ पक्ष अस्पताल प्रशासनका सबै जना मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन बनेका छन ।’ वार्तामा मृतक पक्षबाट सहभागी भएका मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले घटनामा ठूलै लापरबाही देखिएको दाबी गरे । ‘शल्यक्रिया गरिएकी महिलालाई वास्तै नगर्नु ठूलो लापरबाही हो,’ चिकित्सकलाई उनले भने, ‘यस्तो लापरबाहीमा क्षमा दिन सक्ने अवस्था हुँदैन ।’

वार्ताका क्रममा चिकित्सकले सुत्केरीको मृत्यु हुनुको कारण बताएका थिए । वार्तामा सहभागी डा. सुवेदी लगायतका चिकित्सकले शल्यक्रिया गरेपछि पाठेघर फुकेर गएको र नखुम्चिएका कारण सुत्केरीको मृत्यु भएको जानकारी दिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शल्यक्रिया गरिएकी सुत्केरीको अवस्था सामान्य नै थियो । त्यही भएर अरु शल्यक्रिया तिर हामी लाग्यौं,’ चिकित्सकको भनाइ उद्रित गर्दै दाहालले भने, ‘पछि अवस्था गम्भीर बनेर गयो भनेपछि आएर हे¥यौ । तर अवस्था अन्तिम बनिसकेका कारण बचाउन सकिएन ।’

अस्पतालका प्रशासन प्रमुख दिपेश राईले वार्ता क्रममा नहुने घटना भएका कारण समस्याको समाधान खोज्नेतर्फ जानु पर्ने आव्हान गरेपछि मृतक पक्षधरबाट धेरै रकमको माग भएको दाबी अस्पतालले गरेको छ । मृतक पक्षबाट वार्तामा बसेकी पाख्रिनले पनि मृतकका परिवार र छोरीको स्याहार तथा रेखदेखका लागि क्षतिपूर्ति माग गरिएको बाताइन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button