
अंग्रेजी नयाँ वर्ष सन् २०२० शुरु भएको छ । आजका दिन नेपालमा १ हजार ५ सयभन्दा बढी शिशु जन्मिने अनुमान युनिसेफले गरेको छ । नयाँ वर्ष २०२० को उपलक्ष्यमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै युनिसेफले आज नेपालमा १ हजार ५ सय ६७ शिशुको जन्म हुने अनुमान सार्वजनिक गरेको हो ।
संसारभर जनवरी १ तारिक जन्मिने शिशुमध्ये आधाभन्दा धेरै जन्मिने ८ देशको अनुमानित तथ्यांक सार्वजनिक गर्ने क्रममा नेपालमा अग्रेजी नयाँ वर्षको दिन आजको दिनमा जन्मिने शिशुको पनि अनुमानित विवरण दिएको हो ।
बुधबार नयाँ वर्षका दिन संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिने युनिसेफको अनुमान छ। र, आज नेपालमा जन्मिने शिशुको संख्या त्यसको ०।४ प्रतिशत हुने युनिसेफले जनाएको छ। संसारभर आज जन्मिने आधाभन्दा धेरै शिशु निम्न ८ देशमा जन्मिने अनुमान युनिसेफल गरेको छ । डाटा यस प्रकार छन् ।
१, भारत (६७,३८५
२, चीन (४६,२९९
३, नाइजेरिया (२६,०३९
४, पाकिस्तान (१६,७८७
५, इन्डोनेसिया(१३,०२०
६, संयुक्त राज्य अमेरिका (१०,४५२
७, डेमोक्रेटिक रिपब्लिक अफ कंगो(१०,२४७
८, इथियोपिया (८,४९३
हरेक जनवरीमा युनिसेफले नयाँ वर्षका दिनमा जन्मिने शिशुका लागि उत्सव मनाउँछ र यो संसारभर जन्मिने शिशुका लागि सुखद दिन हो । विज्ञप्तिमार्फत युनिसेफले सन् २०२० मा संसारभरका नेतृत्व वर्ग र राष्ट्रलाई हरेक नवजात शिशुलाई जोगाउन स्वास्थ्यकर्मीको सीप र उपकरणमा लगानी गर्न आव्हान गरेको छ ।
‘नयाँ वर्ष र नयाँ दशकको सुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरूबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरूको भविष्यका लागि पनि सोच्ने अवसर हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेका छन्, ‘पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा सुरु गरेका हरेक बालबालिकाको उनीहरूलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।’
सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु जन्मेको पहिलो महिनामै र तीमध्ये करिब एकतिहाइ पहिलो दिनमै मुत्यु भएका थिए । तीमध्ये धेरैजसो शिशुको समय अगाडि नै जन्मिएको, सुत्केरी हुँदाको जटिलता र सेप्सिस जस्ता संक्रमणलगायत कारण मृत्यु भएको युनिसेफको तथ्यांकले देखाएको छ । युनिसेफको तथ्यांक अनुसार हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन्।् ।
सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल संख्याको ४७ प्रतिशत थियो। सन् १९९० मा भने यो संख्या ४० प्रतिशत मात्र रहेको थियो ।