खेलकुदसमाचारहेडलार्इन

२२ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा,भिडियो सहित …..

दिल बहादुर राई / धरान

मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुने भएको छ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तयारी पुरा भइसकेको बताएका हुन् । प्रतियोगिताको उद्घाटनको प्रतिक्षामा आयोजक टिम रहेको राईले जानकारी दिए । रंगशाला श्रृंगार्ने काम मात्र बाँकी रहेको उनले बताए । ‘तयारी सबै पुरा भइसक्यो, सजाउने कामहरु मात्र बाँकी छ,’राईले भने ।

प्रतियोगिताको लागि यसपाली मैदान आर्कषक बनाइएको छ । करिब ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ । सहभागी हुने टिमहरु पनि निश्चित भइसकेको छ । प्रतियोगिता उद्घाटन धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा हुनेछ । ‘यो मैदान अहिलेसम्मकै उत्कृष्ट छ, र यसपालीको खेलहरु पनि रोमाञ्चक हुनेछ,’अध्यक्ष राईले भने । उनका अनुसार उद्घाटन समारोहलाई भव्यता दिदै सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएकोछ । उद्घटान समारोहमा गायक मनोज मोते र रोहित मास्केले गाउनेछन् भने हिमशिखर बोडिङ स्कुल तरहराका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गर्ने भएका छन् ।

प्रतियोगितामा ८ टिम सहभागी हुनेछ । प्रतियोगितामा लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । यस्तै, विदेशी टिममा युके एफसि भारत र कलकत्ताको सन डे क्लब, एस.बि.सि.सि. सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ । यसअघि जापानको लिग टिम पनि सहभागी हुने कुरा थियो । कोरोना भाइरसको कारण जापानको टिमलाई ल्याउन नसकेकोे अध्यक्ष राईले जानकारी दिए ।

यही फागुन महिनामा थुप्रै प्रतियोगिताहरु आयोजना भइरहेकोले आयोजक धरान फुटबल क्लबले खेलाडीहरु पाउन नसकेको अध्यक्ष राईको भनाई थियो । आयोजकको टिम तयारीमा असर पुगेको भएपनि शुक्रबारसम्म खेलाडीहरुको टुंगो लाग्ने अध्यक्ष राईले बताए । आयोजकले यसपाली टिममा २ जना अफ्रिकन, एक जना इजिप्ट र एक भारत नागाल्याण्डको खेलाडी समावेश गर्ने राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button