समाचारसमाजहेडलार्इन

लकडाउनको समयमा भोकभोकै रहेका ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदुरलाई स्थानीय सरकारले खाद्यान्न दियो

धरान,

लकडाउनको समयमा भोकभोकै रहेका ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदुरलाई स्थानीय सरकारले राहत वितरण गरेको छ । दैनिक ज्यालादारी काम गरी खाने मजदुरहरु लकडाउनको समयमा भोकभोकै पर्न थालेपछि धरान उपमहानगरपालिका वार्ड नं. १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले मजदुरहरुलाई दाल, चामल लगायतका खाद्यान्न सहित आवश्यक औषधी समेत वितरण गरेको हो ।

अध्यक्ष भट्टराईले बिहिबार आफ्ना वार्डका जनताको अवस्थाबारे बुझ्ने क्रममा दैनिक ज्याला मजदुरी गरी खाने जनतामध्ये पहिलो चरणमा ५ परिवारको पहिचान गरी प्रत्येक परिवारलाई १५ केजी चामल, २ केजी आलु र १ केजी दाल वितरण गरेका हुन् । अध्यक्ष भट्टराईले आफ्नो निजी लगानीमा ती परिवारको घरमै पुगी खाद्यान्न वितरण गरेका थिए । धरान १४ स्थित गणेश चोकका अमृतबहादुर थापा, धनबहादुर तामाङ, खत्रीधाराका चन्द्रमाया सुवेदी, लीलामाया थापा, तीनधारेका देउकुमारी भूजेलको परिवारलाई खाद्यान्न राहत स्वरुप वितरण गरिएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए ।

दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने ती परिवारले आफुलाई रासन, चामल र खानेकुरा नभएको बताएपछि आफ्नो कर्तव्य ठानी सहयोग गरेको अध्यक्ष भट्टराईले बताए । ‘मेरो वार्डको जनता कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले वार्डका जनताको पारिवारिक र आर्थिक अवस्था अवलोकन गरी निजी खर्चमा खाद्यान्न र औषधी वितरण गरेको हुँ ।’ अध्यक्ष भट्टराईले भने । आफुहरुले १४ नं. वडाको अन्य टोलमा समेत अनुगमन गरीरहेको बताउँदै अन्य ज्याला मजदुरी गरी खाने भोकभोकै बसेको अवस्थामा भेटे त्यस्ता परिवारलाई पनि राहत खाद्यान्न सामग्री र आवश्यक औषधी उपलब्ध गराउने अध्यक्ष भट्टराईको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button