समाचारस्थानीय

धरानमा आगलागी हुँदा बृद्ध आमा र छोरीको ज्यान गयो

धरान,

धरानमा आगोलागी हुँदा बृद्ध आमा र छोरीको ज्यान गएको छ । (आज) विहिबार धरान –१५ नौलो पथमा भएको आगलागीमा वृद्ध आमा र छोरीको ज्यान गयो हो । आगलागीमा परेर ज्यान गुमाउनेमा ८७ बर्षीय वृद्ध आमा धनमाया श्रेष्ठ र छोरी ५८ बर्षीय सीता श्रेष्ठ रहेका छन् ।


यो दुःखद् घटनाका प्रत्यक्षदर्शी सविता लिम्बु हुन् । उनी आगलागी भएकै घरको भुईतलामा भाडामा बस्दै आएकी थिइन् । लिम्बुका अनुसार आगो लागेपछि वृद्ध अजी बाहिर निस्किसकेकी थिइन् । तर, घरभित्र छोरी फसेको थाह पाएपछि उनी बचाउनको लागि जादा दुवैको ज्यान गुमेको उनले बताईन् ।

स्थानीयका अनुसार छोरीको बोली थिएन भने केही सुस्त अवस्थाकी थिइन् । त्यसैले उनी दिनभरी जसो घरमा कोठाभित्र चुकुल लगाएर बस्ने गर्छिन् । ‘अजीलाई त यहाँ तलसम्म हामीले निकालेका थियौं, तर फेरि जानु भयो, आगो धेरै बलिसकेको थियो, पछि निकाल्नै सकिएन,’उनले भनिन्,‘छोरीले चुकुल लगाएर बस्नु भएको थियो । नत्र दुवै जना बाँच्नुहुन्थ्यो ।’

सविताका अनुसार घटना हुनुभन्दा अघि वृद्ध अजी उनीसँगै कुराकानी गरिरहेकी थिइन् । भोक लाग्यो भनेर माथिल्लो तलामा चढेको उनको भनाई छ । ‘कुराकानी गर्दै थियौं, भोक लाग्यो भनेर माथि चढ्नु भयो । ग्याँस खोल्नु भएछ, तर खुलेन । ओइ के भयो भन्नु भयो । अरु बेला पनि कराउनुहुन्थ्यो,’उनले भनिन्,‘आगो हुर हुर बल्यो । उहाँलाई तल झर्नु भनेर कराए ।’ उनले विजुली सर्ट भएर नभै ग्याँस नै लिक भएर नै आगलागी भएको बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button