समाचारस्वास्थ्यहेडलार्इन

सिन्धुपाल्चोक लिदीमा खसेको पहिरोमा ज्यान गुमाउने १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक,

गत शुक्रबार सिन्धुपाल्चोक जुगल गाउँपालिका –२ लिदीमा खसेको पहिरोमा परी ज्यान गुमाने १८ जनाको शव फेला परेको छ । शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप २ जनाको शव भेटिएपछि पहिरोका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको हो । पहिरोमा परी ज्यान गुमाउने मध्ये शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।
यस्तै शनिबार दिउँसो ५ र साँझ थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वार्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र ७ महिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला प्रहरीले जनाएको छ ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका छन् । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई विपद् व्यवस्थापन समितिले रु १ लाख दिने बताईएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेका पिडितका लागि तामाङ कलाकार संघले रु १ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट रु १ लाख र व्यवसायी पूर्ण लिम्बूको तर्फबाटरु २५ हजार गरी संघले जम्मा १ लाख २५ हजार सहयोग उपलब्ध गराएको तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

https://www.youtube.com/watch?v=rEDUiGst0Rg&t=473s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button