समाचारस्थानीयहेडलार्इन

सुनिहाङ्मा मृत्यु प्रकरण सिंगापुर पुलिस फोर्सले माग्यो इन्टरपोललाई घटनाको विवरण

धरान,

धरान स् सुनिहाङ्मा घटना प्रकरणबारे सिंगापुर पुलिस फोर्सले आफ्नै सङ्गठनमा कार्यरत व्यक्तिमाथि नेपालमा अदालतले पक्राउ पुर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोललाई घटनाको विवरण मागेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणबारेमा जानकारी मागेकोले धरानबाट घटनाको विवरण पठाई सकेको बताएका छन् ।

विवाह गरेको केही महिनामै सिंगापुरे फर्किएका सुनिहाङ्मा लिम्बुका श्रीमान् आइतराज माबो सिंगापुरे लाहुरे हुन् । उनीहरुको विवाह भएको केही महिनामै सुनिहाङमा कोठामा मृत अवस्थामा भेटिएका थिए । सुनिहाङमा लिम्बुको माइती पक्षले घटना रहस्यमय भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । सो क्रममा धरान प्रहरीले सुनिहाङमाका ससुरा सहित ४ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट जनही एक लाख ५० हजार धरौटी माग गरी असोज २१ गते छुटेका छन् ।

जिल्ला अदालत र प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै उनीहरूले विराटनगरको उच्च अदालत, प्रदेश प्रहरी कार्यालय र गोर्खा वेलफेयर धरानमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा सुनिहाङमाका श्रीमान् आइतराज माबो कार्यरत रहेको सिंगापुर पुलिस फोर्समा पनि वेलफेयर मार्फत निवेदन पुगेपछि सिंगापुर पुलिस फोर्सले घटनाको बारेमा चासो लिएको छ । त्यही अनुसार सिंगापुर प्रहरीमा कार्यरत धरान ११ का २२ वर्षीय आइतराज माबोविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको हो । भदौ २६ गते जिल्ला अदालत सुनसरीले माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

श्रीमती सुनिहाङमा लिम्बूको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । माबोकोबारेमा सिंगापुर प्रहरीले मागेका आवश्यक कागजात नेपालबाट पनि पठाइएको जानकारी इन्टरपोल शाखाले दिएको प्रहरीले बताएको छ । सिंगापुरमा रहेका मृतकका श्रीमान् माबोमाथि अनुसन्धान पनि शुरु भएको बताइएको छ । जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेका व्यक्तिलाई सात दिनभित्र पक्राउ नपरे ३५ दिनभित्र म्याद तामेल गराउन प्रहरीलाई आदेश थियो । अदालतको आदेश बमोजिम धरान प्रहरीले माबोको घरमा म्याद तामेल गराइसकेको जनाएको छ ।


सुनिहाङ्मा मृत्यु प्रकरणको मुद्दा अहिले उच्च अदालत विराटनगरमा विचाराधीन अवस्थामा रहेको बताइएको छ । प्रहरीको अनुसन्धानमा चित्त नबुझाएका माइती पक्षले प्रदेश १ प्रहरी कार्यालयमा पनि उजुरी दिएपछि प्रहरी अनुसन्धानमाथि छानबिन गर्न संघीय प्रहरी इकाई धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी नेतृत्वमा छानबिन भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कवीन्द्र कुमार कार्कीले कपुरी न्युजलाई जानकारी दिए ।

ढिलै भए पनि सिंगापुर पुलिस फोर्सले नेपाल प्रहरीको इन्टरपोल शाखालाई घटनाको विवरण मागेर अनुसन्धान थालेको भन्ने सुनेका छौ । यसले हामीले न्याय पाउछौकी भन्नेमा आशा जागेको सुनिहाङमा न्ययिक अभियान समितिका सहसंयोजक अरुण तिगेलाले बताए । उनले थपे अदालतले धरौटीमा छाडने निर्णय गरेपछि अदालत परिसरमा आइतराज माबोको परिवारले गरेको अबिर जात्राले थप घटनामा रहस्य पैदा गरेको छ ।

हाम्रो छोरी उनीहरूको बुहारी हो । मृत्यु भएपछि शोकको घडीमा कुनै पनि रङ्ग लगाउनु हुँदैन तर युद्ध जितेर अबिर जात्रा गरिएको देखियो यसले घटना अझै रहस्यमय बनाएको सुनिहाङमाको माइती पक्षको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button