
धरान,
वीपी प्रतिष्ठानले बाहिरबाट महंगोमा अक्सिजन किनिरहेको छ । आफ्नो अक्सिजन प्लान्ट पर्याप्त अक्सिजन उत्पादनमा सक्षम हुँदाहुँदै प्रतिष्ठान व्यवस्थापनले खनारको विनायक अक्सिजनका सिलिण्डर किनिरहेको हो । देशभरका अस्पतालमध्ये सबैभन्दा ठूलो अक्सिजन प्लान्ट रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दैनिक १ सय सिलिण्डर अक्सिजन खरिद गरिरहेको छ ।
प्रतिष्ठानमा दैनिक १६ सय लिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट छ ।
तर, व्यवस्थापनले प्लान्ट पूर्ण सञ्चालनमा ल्याउन सकेको छैन। प्लान्टमा अहिले दैनिक ८ सय लिटर अक्सिजन मात्र उत्पादन भइरहेको छ । आफ्नो प्लान्टलाई पूर्ण सञ्चालनमा नल्याएर बाहिरबाट अक्सिजन ल्याउँदा प्रतिष्ठानलाई नोक्सानी भइरहेको छ । तर, व्यवस्थापन समितिलाई भने प्रतिष्ठानको नोक्सानी कुनै मतलब छैन उनीहरु दर्शक बनेर टुलुटुलु हेरिरहेको सम्बद्ध अधिकारीहरू नै बताउँछन् ।
‘अक्सिजन प्लान्ट जडान र आपूर्तिको ठेक्का सम्झौताविपरीत पूर्ण क्षमतामा सञ्चालन नभई प्रतिष्ठानले जिम्मा लिनु नै यसको कारण हो,’ प्रतिष्ठानको इलेक्ट्रोमेड शाखामा कार्यरत् एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार २०७३ असार ३१ गते अक्सिजन प्लान्ट जडान र आपूर्तिको ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का काठमाडौंको डाइनोकेम इन्टरनेशनलले पाएको थियो । उसले सम्झौताअनुसार १ सय २० दिनभित्रै प्लान्ट हस्तान्तरण गरिसक्नुपर्ने थियो ।
तर, कम्पनीले २०७६ माघमा मात्र प्लान्ट हस्तान्तरण गर्यो । उसले हस्तान्तरण गर्दै प्लान्टले पूर्णक्षमतामा अक्सिजन उत्पादन गरिरहेको थिएन । सम्झौताविपरीत काम गरेको भन्दै प्रतिष्ठानका तत्कालीन पदाधिकारीले उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने सिफारिस गरेका थिए । तर, हालसम्म पनि उक्त कम्पनीलाई कारबाही नगरी प्रतिष्ठान व्यवस्थापनले सोही कम्पनीलाई अक्सिजन प्लान्टको जिम्मा दिइरहेको छ ।
प्रतिष्ठानको हरेक शैयामा अक्सिजन पाइपलाइन पुर्याछइएको छ । यसकारण सिलिण्डरको आवश्यकता पर्दैन । अहिले कोभिड(१९ को महामारीका कारण अक्सिजनको माग बढिरहेको छ । यहीबेला प्रतिष्ठानले भने आफ्नो प्लान्ट आधा सञ्चालनमा राखेर बाहिरबाट खरिद गरिरहेको छ । बाहिरबाट खरिद गर्दा तुलनात्मक रूपमा खर्च पनि महंगो हुने गरेको छ ।
प्रतिष्ठानले कोटेशनमा झन्डै ३ सय ५० रुपैयाँ प्रतिसिलिण्डर खरिद गरिरहेको छ । यसमा ढुवानी र तेल खर्च अलग्गै जोडेर ४२५ रुपैयाँ पु¥याईएको छ । आफ्नै प्लान्टमा अक्सिजन उत्पादन हुँदाको भन्दा यो खर्च दोब्बर हो । अहिले विनायक अक्सिजनबाट ४६.७ लिटर सिलिण्डर प्रतिष्ठानमा आपूर्ति भइरहेको छ । प्लान्टको व्यवस्थापन हेरिरहेको इलेक्ट्रोनिक्स शाखाले पूर्ण क्षमतामा नआउनुको साधारण कारण देखाएको छ ।
शाखाका अनुसार प्लान्टमा ‘जिओलाइट केमिकल’ (हावालाई अक्सिजनमा परिणत गर्ने काम गर्छ), जडान गर्न बाँकी छ । अहिले प्लान्टमा चार वटा जिओलाइट ट्यांक जडान गरिएका छन् । जसमध्ये दुइटा ट्यांक हस्तान्तरण हुनेबित्तिकै बिग्रेर थन्किएको थियो । यहीकारण तत्कालीन पदाधिकारीले सो कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै कारबाही सिफारिस गरेका थिए ।
‘जिओलाइट ट्यांक ल्याएर ठिक्क पारेका छौं, तर जोड्न बाँकी छ,’ शाखा प्रमुख राहुल मिश्रले भने, ‘यो जोड्नेबित्तिकै प्लान्ट पूर्ण सञ्चालनमा आउँछ।’ यो जडानका लागि एक(दुई दिन प्लान्ट नै बन्द गर्नुपर्ने हुन्छ । त्यसका लागि सिलिण्डरमा अक्सिजन भरेर राख्नुपर्ने हुन्छ ।
‘बाहिर सिलिण्डरको हाहाकार छ, हामीसँग सिलिण्डर छैनन्, सिलिण्डरको व्यवस्थापन नभएसम्म अक्सिजन प्लान्ट पूर्णक्षमतामा ल्याउन सकिँदैन,’ उनले भने, ‘सिलिण्डरको जोहो गरिरहेका छौं, जुटेपछि प्लान्टमा जिओलाइट जोड्छौं ।’ यता अस्पतालका निर्देशक डा. गौरीशंकर शाहले अक्सिजन प्लान्टको समस्याबारे आफूसँग कुनै प्रतिक्रिया नरहेको बताए ।
‘यसमा मैले अहिले केही भन्नु छैन, भन्न सक्दिनँ पनि,’ शाहले भने । डाइनोकेम इन्टरनेसनलका प्रोप्राइटर विज्ञान अर्यालले जिओलाइट ट्यांक बिपीमा तयारी अवस्थामा राखिएको र अस्पतालले जहिले भन्छ जोडिदिन तयार रहेको बताए ।
‘अहिले दुई वटा जिओलाइटबाटै पर्याप्त अक्सिजन पुगिरहेको हुनाले प्रतिष्ठानले नयाँ जोड्न भनेको छैन, भन्नेबित्तिकै म जोडिदिन्छु, जिओलाइट तयारी अवस्थामै प्रतिष्ठानमै राखिएको छ,’ अर्यालले भने ।