
माइली तामाङका काभ्रेमा सुन चोरी
३८ तोला सुन चोरेर काठमाडौं आएका पाँच जना युवा पक्राउ
काठमाण्डौं,
काभ्रेबाट ३८ तोला सुन चोरेर काठमाण्डौंं आएका ५ जना युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आइतबार ३८ तोला सुनसहित पक्राउ गरेको हो । काभ्रे पाँचखाल नगरपालिका (२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरी भएको थियो ।
सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए । पक्राउ पर्नेमा ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरी गरी फरार भएका उनीहरुको हुलिया सहित खोजतलास पत्राचार गरिएको थियो । हुलिया अनुसार महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरुलाई आइतबार ड्र्यागन डिस्कोबाट पक्राउ गरेको हो ।
शनिबार चोरी गरेर काठमाडौं आएका रहेछन्। दुई जना भने पैसा पाएर डिस्को छिरेछन् । उनले भने, हामीले थाहा पाएर पक्राउ गर्यौं अरुलाई उनीहरुको माध्यमबाट पक्रियौं । थप अनुसन्धान गर्न उनीहरुलाई काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।