
धरान,
धरानको एडिबी खानेपानी आयोजना असफल भएको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आरोप लगाएका छन् । धरान खानेपानी आयोजना असफल भइसकेको दाबी गर्दै खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न समितिले माग गरेको छ ।
संघर्ष समितिले सोमबार संस्थान परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई नै संस्थानको जिम्मा दिएर पानी आपूर्ति र वितरणमा सहज बनाउन नयाँ प्रस्ताव एवं माग गरेका छन् । संघर्ष समितिका संयोजक हर्क साम्पाङले भविष्यमा थप ऋण लिएर नयाँ आयोजना सञ्चालन गर्नुभन्दा अहिले नै असफल भएको आयोजनालाई संस्थानको जिम्मा दिनु उचित हुने बताए । ‘आयोजना नै खानेपानी संस्थानलाई जिम्मा दिएर यो धरानले लिएको ऋण नेपाल सरकारले तिर्नुपर्छ,’उनले भने,‘धरान पनि नेपाल बाहिरको भुभाग होइन । संघीय सरकारले ऋण पनि जिम्मा लिनुपर्छ, असफल भएको आयोजना पनि जिम्मा लिनुपर्छ ।’
एडिबिबाट ठुलो ऋण लिएर आयोजना सञ्चालन गर्नु हुदैन भनेर आन्दोलनरत संघर्ष समितिसँग उपमहानगरपलिका र सर्वपक्षीय छलफल भएर २०७१ कार्तिक २२ गते राती ११ बुँदामा सहमति भएको थियो, र आन्दोलन अवतरण भएको थियो । अहिलेको हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले उक्त सहमतिका हस्ताक्षरकर्ताहरुलाई आयोजना सफल भएको हो कि असफल भएको हो ? भनेर प्रश्न गरेका छन् । मोमबार पत्रकार सम्मेलनमा सबै हस्ताक्षर कर्ता १९ जनालाई नै आमन्त्रण गरेपनि एकराज कोइराला बाहेक कोही पनि नआएको बताए । ‘हस्ताक्षरकर्ताहरुलाई प्रश्न गछौं, तपाईहरुको हस्ताक्षर पछि आयोजना आएको थियो । यो सफल भयो कि असफल भयो ? सफल भयो भने कसरी ? असफल भएको हो भने हामीसँग आन्दोलनमा आउनुहोस्,’उनले भने ।
सहमति भएको ११ बुँदा अनुसार कुनै पनि कार्यान्वयन नभएको सँंघर्ष समितिको दाबी छ । साम्पाङले आफुहरुले ५ बुँदा माग अघि सारेपनि पुरा नगरेको बताए । उनका अनुसार करिब २ हजार घरधुरीले २०७२ सालमा नै पैसा बुझाएकाहरुको घरमा धारा जोडेर पानी विरतण गर्नुपर्ने माग छ । यस्तै, सहमतिमा उल्लेख भएअनुसार १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भएको नापेर देखाउनुपर्ने, आयोजनमा खर्च भएको कति हो ? के मा खर्च भएको हो भनेर लेखा परीक्षण गरेर सार्वजनिक गर्नुपर्ने माग रहेको पनि उनले बताए । साथै, ट्यारिफ बोर्ड अनुसारको महशुल शुल्क लिनुपर्छ भन्ने माग रहेको पनि उनले बताए । ‘खर्च प्रतिवेदन पनि सार्वजनिक गर्न नमानेपछि भ्रष्टचार भएको प्रष्ट छ । नत्र किन हिसाब सार्वजनिक गर्दैनन् ?’उनले भने ।
हस्ततक्षरकर्ता मध्येका पत्रकार सम्मेलनमा आएका एकराज कोइरालाले आयोजना ल्याउदा सबै पाटी मिलेर पैसा खाएको बताएका छन् । आयोजना ल्याउनका लागि ११ बुँदे सहमतिमा हस्ताक्षरकर्तामध्येका कोइरालाले संघर्ष समितिको पत्रकार सम्मेलनमा यस्तो खुलासा गरेको हो । आफुलाई राती घरबाट उठाएर लगेर जर्बजस्ती हस्ताक्षर गराएको त्यसको भोली बिहान घण्टाघरमा पैसाको भागबण्डा हुदै गरेको आफुले भेटेको ग्यान्टीका साथ भन्छु भन्दै कोइरालाले आयोजनको रकममा हिनामिना भएको खुलासा गरेका हुन् ।
पत्रकारले आयोजनाको रकम हिनामिना गर्ने पाटी र व्यक्तिको नाम सार्वजनिक गर्नुहोस् भनी प्रश्न गर्दा पाटीको नाम खुलाई व्यक्तिहरुका नाम गोप्य राख्छु भन्दै कोइरालाले नाम खुलाउन मानेन् । उनले तत्कालिन माओवादी, एमाले, कांग्रेस, लिम्बुवानलगायत दलका नेताहरुले पैसा खाएको ठोकुवा गरे । ‘हिनामिना गरेको छ, साथीहरुले पैसा खाएको छ । कोही माओवादीका छन्, कोही एमालेका छन्, कांग्रेसका पनि छन्,’उनले भने,‘नाम चै अहिले भन्दिन । साथीहरु आज आएको भए भन्थे । जसरी पनि आयोजना लागु गर्नुपर्छ भनेर खाएका छन ।’ कोइरालाले पत्रकार सम्मेलनमा दाबीका साथ भने ।