
धरान,
खानेपानी आयोजनामा लिम्बुवानलाई पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले ईलाका प्रहरीमा पुगेर माफी मागेका छन् । एडिबिबाट ऋण तथा अनुदान लिएर शुरु भएको धरान खानेपानी आयोजना सञ्चालन गर्ने सहमति गर्दा पैसा खाएको आरोप लगाएका कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका हुन् ।
मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बिहिबार (आज) प्रहरीले उनलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा ढाकेको थियो । मञ्चले कोइरालाको अभिव्यक्तिप्रति आपत्ति जनाउदै पाटीको बद्नाम गराएको भन्दै कारबाहीको माग गरेको थियो । कोइरालाले आफुसँग पैसा खाएको प्रमाण उपलब्ध गराउन नसकेपछि प्रहरी कार्यालयमा लिखितरुपमा र सार्वजनिकरुपमा नै माफी मागेका हुन् । कोइरालाले केही दिनअघि हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलहरुले पैसा खाएको अभिव्यक्ति दिदा लिम्बुवानको नाम पनि लिएका थिए ।
कोइरालाले भने आफुले पैसा खायो भनेर लिम्बुवानको नाम लिएकोमा गल्ती भएको भन्दै क्षमा मागेका हुन् । मैले लिम्बुवान भनेर नाम लिएकोमा गल्ती भएको हो, त्यसमा क्षमा पाउ । पत्रकार साथीहरुलाई पनि घुमाएर यस्तरी लेख्नु भयो भनेर भनेको छैन, तपाईहरुलाई मैले बद्नाम गरेर केही पनि पाउँदीन र अब देखि भन्नेवाला पनि छैन,’कोइरालाले भने । नगर अध्यक्ष सञ्जुहाङ साँवा लिम्बुले ११ बुँदे सहमतिलाई आफुहरुले अस्वीकार गरेर हस्ताक्षर पनि नगरेको र विजयपुरमा खानेपानी ट्यांकी बनाउने निर्णयविरुद्ध आन्दोलन गर्दा आफ्नो धेरै कार्यकर्ताले कुटाइ खाएको बताउदै पैसा खायो भन्ने आरोप लगाएर वद्नाम गराउन खोजेकोले प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
‘प्रमाण छ भने दिनुस्, नगरकोले खाएको छ भने हामी कारबाही गछौं । केन्द्रकोले पनि खाएको छ भने हामी केन्द्रमा कारबाहीको सिफारिस गछौं’ साँवा लिम्बुले भने । लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले ८५ बर्षका ज्येष्ठ नागरिकले गल्ती गरेकाले गल्ती भयो भन्दै माफी मागेको हुनाले प्रहरीमा मिलापत्र गरिएको बताए । ‘८५ बर्षका वृद्ध हुनुहुन्छ, अबदेखि यस्तो गर्दिन भनेर माफी नै माग्नुभएकोले मिलापत्र भयो, हामीले उहाँलाई क्षमा दियौं,’इजमले भने ।