
धरान,
राहतका नाममा रकम, जिन्सी संकलन गर्न निषेध गरिएको छ । स्थानीय सरकारले एकद्वार मार्फत राहत वितरण गर्ने निर्णय भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सुनसरीको बैठकले आफू खुशी व्यक्ति वा संस्थाले राहतका नाममा रकम वा जिन्सी संकलन गर्न वा वितरण गर्न नपाउने निर्णय गरेको छ ।

स्थानीय सरकारमार्फत् एकद्वार प्रणालीलाई प्रोत्साहन गर्दै डीसीसीएमसीले कसैले स्वेच्छिक रुपमा सामग्री उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहको कार्यालयमा बुझाउनु पर्ने निर्णय गरिएको हो । बैठकले कुनै व्यक्ति वा संस्थालगायतले आफूखुसी राहतका नाममा रकम जम्मा गर्ने गराउने कार्यलाई निषेध गर्ने निर्णय गरेको छ । राहत स्वरुप प्राप्त सामग्री स्थानीय तहले औचित्यता र आवश्यकता हेरी पीडितको घरआँगनमा पु¥याउने व्यवस्था मिलाउन निर्णय बैठकले गरेको छ । बैठकले स्थानीय तहले मान्छे बोलाएर वा भेला गरेर वितरण गर्न नपाउने निर्णय गरेको छ ।
यस्तै, बैठकको अर्को निर्णय
चिकित्सकको सिफारिश बाहेक कसैले पनि घर वा संस्थामा अक्सिजन राख्न पाउने छैन । सिलिन्डर भए नजिकको अस्पताल वा प्रहरीलाई बुझाउनु पर्ने छ । सबै अक्सिजन प्लान्ट २४ सै घण्टा संचालन हुने व्यवस्था मिलाउने, कोभिड १९ उपचार, रोकथाम तथा नियन्त्रणको कार्यमा राज्यका सबै पक्ष, रेडक्रस, एनजीओ महासंघ तथा निजी क्षेत्रलाई समेत सहभागितामा थप समन्वयात्मक बनाउने निर्णय गरिएको छ ।