
धरान,
वीपीमा देखिएका समस्यको समधान गरी अक्सिजन प्लान्ट र उपचार सेवा तत्काल सुधार नगरे पदाधिकारीहरुलाई झोला बोकाएर धरान कटाउने धरानका राजनीतिक दलहरुले चेतावनी दिएका छन् । अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गर्न लगायत विभिन्न मागहरु लिएर धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलार्ई चेतावनी दिएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले(माधव पक्ष), नेकपा माओवादी केन्द्र पाटी, जनता समाजवादी पाटी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पाटी लगायत दलहरुले सोमबार प्रतिष्ठानको उपकुलपति प्रदेशद्धारमा पुगेर धर्ना दिदै दबाब दिएका छन् । उनीहरुले कोरोना संक्रमणको दोस्रो लहर शुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा पदाधिकारीहरुको गैरजिम्मेवारीपन र लापरवाहीपन देखाएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपुर्णरुपमा सांकेतिक विरोध पदर्शन गर्न वीपी प्रतिष्ठान पुगेका थिए ।
प्रतिष्ठानका उपकुलपति र पदाधिकारीहरुको गैरजिम्मेवारीपनले गर्दा लकडाउनमा पनि दबाब दिन अस्पताल जान बाध्य भएको जनता समाजवादी पाटीका धरान अध्यक्ष ताजुब लिम्बुले बताए । धरानका उपमहानगरपालिकाका मेयर तिलक राई सहितको टोलीले पदाधिकारीहरुसंग केही केही दिन अघिको छलफलमा कोभिडको लागि सबै तयारी अवस्थामा छौं, केहीको कमी हुन दिदैनौ भन्ने पदाधिकारीहरुले १० दिनभित्रै प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएको भन्दै लापरवाही गरेको लिम्बुले आरोप लगाए ।
स्वास्थ्य सेवा सुधार नगरेमा र कमीकमजोरी तत्काल सुधार नगरेमा थप विरोधको कार्यक्रम ल्याउने नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले बताए । विरामीहरुले आइसियु, भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको, डाइलाइसिस गर्न नपाइरहेको भन्दै गोेलेले पदाधिकारीहरु भने कमिशन र भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।
धरानका राजनीतिक दलहरु र धरानवासीहरु वीपी प्रतिष्ठान सुधारको अभियानमा लागेको नेकपा माओवादी केन्द्रका धरान संयोजक फोकाहाङ सुब्बा (चोत्लुङले) बताए । आफुहरु अस्पतालमा देखिएका बेथिति सुधार उपचार सेवा चुस्दुस्त गर्न लागेको भन्दै पदाधिकारीहरु र कर्मचारीले सुधार नगरे धरानको कटाएर बाटो लगाउने चेतावनी दिए । एमालेका अध्यक्ष नारायण सुवेदीले विरामीले अक्सिजन नपाएर ज्यान गुमाइरहदा उपकुलपति मुकदर्शक भएको आरोप लगाए । विरामीको उपचार गर्दिन भनेर वीपीले गम्भीर लापरवाही गरेको भन्दै संघीय लिम्बुवा राज्य परिषदका सञ्जुहांग साँवाले आक्रोश पोखे ।
‘ उपकुलपति र पदाधिकारीहरुले वीपी प्रतिष्ठानमा ज्यादै लापरवाही गरेको छ । उनीहरु कम्शिन र भ्रष्ट्राचार गर्न मात्र लागीरहेका छन्,एशियाकै दोस्रो अस्पताल मानिएको वीपी प्रतिष्ठानमा उपकुलपति र पदाधिकारीहरुको लापरवाहीका कारण बिरामीले ज्यान गुमाउनु परेको छ , जागिर खान्छौं भने राम्रो संग काम गर यदि होइन भने आफ्नो झोला कुम्लो कुटोरो तयार गर हामी राजनीतिक दलहरु र धरानवासी तिमीहरुलाई धरानको तिनकुने सम्म पु¥याउन जान्छौं’ साँवाले आक्रोश पोख्दै भने ।