समाचारसमाजहेडलार्इन

छोरालाई बिदेशमा राम्रो काममा नपठाएको भन्दै बुबाले गोली हानी ‘एजेन्ट’को हत्या

कपिलबस्तु ,koshipost.com
छोरालाई बिदेशमा राम्रो काममा नपठाएको भन्दै बुबाले गोली हानी ‘एजेन्ट’को हत्या गरेका छन् । विदेशमा छोराले राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका हुन् । कपिलवस्तु कृष्णनगर नगरपालिका –१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


विजयनगर गाउँपालिका –१ का ५० वर्षीय पशुपति कुमीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका –१० नेपाल(भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो । हत्यापछि भागिरहेका कुमीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए । पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए ।

कुमीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुमीले पैसा फिर्ता माग्न थाले । भण्डारीका अनुसार पटक(पटक पैसा फिर्ता माग्दा नपाएपछि उनलाई कुमीले मार्ने योजना बनाए । यसमा कुमीसहित ३ जना व्यक्ति प्रतिवादी छन्।् । उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए ।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए । उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए । तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको भण्डारीले बताए । गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए । गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको भण्डारीले बताए । कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले जानकारी दिएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button