
धरान,koshipost .com
सुनसरीको धरानमा याक्थुङ उद्यमी समाज गठन गरिएको छ । नवगठित समाजको अध्यक्षमा विपीन सुब्बा इवारम, वरिष्ठ उपाध्यक्षमा देवकुमार सुब्बा, उपाध्यक्षहरुमा नविन सुब्बा, भारती सुब्बा र डम्बरकुमार तुम्बापो, डा। योगेन्द्र पालुङ्वा रहेका छन् । त्यस्तै, समाजको सचिवमा शिव सुब्बा (इश्वो), कोषाध्यक्षमा कविता लिम्बू, सहसचिवमा शान्तिराम जवेगू (सुमन), जीवनप्रकाश शेर्मा, मोहनविक्रम तिगेला, निर्मल इवारम रहेका छन् भने सहकोषाध्यक्षमा कल्पना लिम्बू रहेकी छिन् । यस्तै, सदस्यहरुमा भद्रकुमारी लिम्बू, हेमचन्द्र लिम्बू, दिलकुमारी राई लिम्बू, ज्योति लिम्बू (मेन्याङ्बो) राजीव सुब्बा, पूर्णबहादुर लिम्बू रहेका छन् ।
आज नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय भवनमा पत्रकार सम्मेलन गरी याक्थुङ लिम्बूको हकहितको लागि २०७८ भदौ ३१ गते संस्था दर्ता गरिएको समाजका अध्यक्ष विपीन सुब्बा इवारमले जानकारी दिए । गैर राजनीतिक, गैर धार्मिक, गैर सरकारी, गैर नाफामूलक भनिएको संस्थाले सामाजिक कार्य मात्रै गर्ने उद्देश्य लिएको अध्यक्ष इवारमले पत्रकार सम्मेलनमा बताए ।
याक्थुङ लिम्बू उद्यमीहरुको हकहित, प्रगति, एकताका लागि काम गर्ने, व्यवसायिक सिर्जनशीलता एवं उद्यमशीलताको विकास र जनचेतना अभिवृद्धिका लागि कार्यक्रम गर्ने, उद्यमीहरुको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं विकाससम्बन्धी काम गर्ने, उद्यमीहरुको साझा समस्या र चुनौती समाधानको लागि यथोचित अध्ययन अनुसन्धान गर्ने, भैपरी आउँदा सहयोग पनि गर्ने, युवा जनशक्ति, श्रम, सीप र पुँजी विदेश पलायन भइरहेको र विदेशबाट फर्किएका युवाहरु समेत बेरोजगार भइरहेकोले उनीहरुलाई स्वदेशमै स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने, लिम्बू समुदायका चलनचल्तीमा रहेका परम्परागत ज्ञान, सपि, प्रविधि तथा अनुभवलाई व्यवसायिकरण गर्न प्रेरित गर्ने लक्ष्य लिइएको संस्थाका उपाध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
उनका अनुसार लिम्बू उद्यमीहरुको हित, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धनका लागि अक्षयकोष खडा गरिनेछ भने लिम्बू भाषा, संस्कार, संस्कृति, साहित्यको पनि संरक्षण गरिनेछ । यस्तै, लिम्बू समुदायबाट उद्योग, व्यापार, व्यवसाय एवं भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान, पुरस्कृत एवं अभिनन्दित गर्ने कार्यक्रम गरिने छ भने गरिब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिका लागि पहल गर्ने लक्ष्य लिइएको जनाइएको छ ।