
धरान,koshipost.com
धरानको ११ औं नगरसभा नीति तथा कार्यक्रम पारित भएको छ । १ अर्ब ६८ करोड ५८ लाखको बजेट सार्वजनिक सहित नगरस सभा भएको हो । धरान उपमहानगरपालिकाको विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विवाद नटुङ्गिँदै शुक्रवार नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा दिउँसो १ बजे हुने भनिएको नगरसभा झण्डै २ घण्टा ढिलो शुरु भएको थियो । नगरसभामा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रम र धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गरेका थिए ।

विहिबार बसेको कार्यपालिका बैठकमा विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विषयमा निर्णय नभएका कारण शुक्रवारको ११ औँ नगरसभाले नीति तथा कार्यक्रम मात्रै पारित भएको होे १ अर्ब ६८ करोड ५८ लाख २३ हजार आर्थिक वर्ष २०७९÷०८० को बजेट नगरसभामा प्रस्तुत गरिएको छ ।

११ औं नगरसभा कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले मन्तव्य राखिसकेपछि नगरसभामा केही सदस्यहरूले सुझाव तथा धरानको समसामयिक विषयमा आफ्नो भनाई राखेका थिए । नगर सभाको समापन गदै मेयर हर्क साम्पाङले असार २३ गते बिहीबार दिउसो १ बजे नगरसभाको बैंठक बस्ने घोषणा गरेका थिए ।