धरानेलाई प्रर्याप्त पानी खुवाउन धरानका मेयर राईले धरानमा सबै भन्दा ठुलो पोखरी बनाउन इन्जिनियर र प्राविधिक टोलीसहित निरीक्षण गर्न पुगे मुहानमा (भिडियो सहित)

धरान,koshipost.com
धरानेलाई प्रर्याप्त पानी खुवाउन धरानका मेयर हर्क साम्पाङ राईले धरानमा पोखरी बनाउने भएको छ । धरानेलाई प्रर्याप्त पानी उपलब्ध गराउने र सोही पानीले बिजुली समेत उत्पादन गर्न भन्दै बिहिबार इन्जिनियर र प्राविधिक टोली सहित मेयर राई सर्दु खर्दुको मुहान निरिक्षण गर्न पुगेका थिए ।
सुख्खा मौसममा धरानमा खानेपानीको हाहाकार हुने गरेकाले चुनावताका पानीको मुद्दा उठाएर हिडेका मेयर राईले सबै भन्दा पहिला धरानवासीलाई प्रर्याप्त पानी उपलब्ध गराउन वर्षायामको पानी सञ्चित गर्नका लागि पोखरी निर्माण गर्न लागेका हुन् । धरान(१३ स्थित बानियाँटार र खर्दु खोलानजिक रहेको खाली जग्गामध्ये कुनै एक स्थानमा पोखरी निर्माण गरेर वर्षायामको पानी सञ्चित गरी धरानवासीलाई पानी खुवाउने उपमहानगरपालिकाको योजना रहेको छ । बिहीबार कार्यालयमा हाजिर भई केही काम गरी मेयर राई इन्जिनियर राजु पोख्रेल, मेकानिकल विभागका प्रमुख आरडी यादव, इलेक्ट्रिकल विभागका प्रमुख पंकजकुमार रौनियार, सिभिल विभागका प्रमुख प्रभातकुमार देवको टोली सहित पानीको मुहानमा पुगी अवलोकन गरेका थिए ।
‘मेरो कल्पना के छ भने दुई स्थानमध्ये एक स्थानमा सर्दु र खर्दुको पानी जम्मा गरिने र धराने जनतालाई हिउँदमा पानी खुवाउने योजना छ, सोहीअनुरुप आज निरीक्षणका लागि आइपुगेका हौं, सम्भवतः अब चाँडै नै योजनाको काम अघि बढ्छ यस योजनाले धराने जनतालाई पानीको समस्य कम भएपछि राहत मिल्छ भन्ने मेरो विश्वास छ’ मेयर साम्पाङले निरीक्षण बाट फर्केपछि कुराकानीको क्रममा भने । ‘विषेशगरी सुख्खा समय कार्तिक, मङ्सिरको पानी संकलन गरेर स्टोर गर्न सकिन्छ भन्ने मेरो बुझाई र मेरो कल्पना छ’ मेयर राईले थपे
पोखरीमा जम्मा भएको पानी पाइपबाट लगेर टर्वाइन घुमाएर बिजुली समेत निकाल्ने मेयर राईको सोच भएको बताए । बानियाँटारमा पोखरी बने बीपी पार्क तलतिर पाइपबाट पानी तानेर बिजुली उत्पादन गर्ने बेला बेला लाईन जाने समस्यबाट धरानेलाई मुक्त बनाउने सोच समेत भएको मेयर राईको योजना रहेको सुनाए ।
मेकानिकल विभागका प्रमुख यादवका अनुसार मेयर साम्पाङको ‘कन्सेप्ट’ ठीक भएको र सर्दु, खदुको मात्रै नभएर कोशीको पानी समेत त्यहाँ लगेर खसाउन सकिने बताए । सर्दु खुर्दुको पानी मध्ये बानियाँटारमा पोखरी निर्माण गर्दा बढी सम्भव भएको र सर्दु–खर्दु दुवै स्थानको पानी ल्याएर त्यहाँ जम्मा गर्न सकिने उपमहानगरपालिकाका इन्जिनियर राजु पोख्रेलले जानकारी दिए । मेयर साम्पाङका अनुसार सो पोखरी निर्माणका लागि करिब २–३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस योजना सफल बनाउन संघ सरकार संग सहयोग माग्ने र संघ सरकारले सहयोग नगरे विश्वभर छरिएर रहेका विषेशगरी धरानवासी र नेपालीलाई सहयोग माग्ने मेयर राईले बताए ।