
धरान,koshipost.com
मेयर हर्क साम्पाङ राईले माफी माग्नु पर्ने अडान राखेर वडाअध्यक्षहरु पालिकामा नआउदा कार्यपालिका बैंठक फेरि स्थागित भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि बिहिबार बस्ने भनिएता पनि पालिका सदस्य र वडाअध्यक्षहरु नआएका कारण फेरि स्थगित भएको छ । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिबार बैंठक बस्ने जानकारी गराएका थिए ।
उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरुलाई एक ट्रक जति धन्यवाद ।’ धरानमा लगातार दुईवटा कार्यापालिका वैठक स्थगित भएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका वैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए ।

यस अघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो । दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि वैठकको एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।