
काठमाण्डौं, koshipost.com
नेपालमा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस आज मनाइदै छ । हरेक वर्षको फेब्रुअरी १५ तरिखमा यो दिवस मनाउने गरिन्छ । ‘जीवन रक्षा तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन थालिएको हो ।

हरेक ३ मिनेटमा विश्वभरमा एक बालबालिकाको क्यान्सरले गर्दा मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्छौ । हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको विज्ञहरुको भनाई छ । उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।

साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो । समयमै यो रोग पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालले जनाएको छ ।